विषालु रक्सी पिउँदा चार मजदूरको मृत्यु, दुई बिरामी
विषालु रक्सी पिउँदा बाग्लुङमा चार जना मजदूरको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन्।
विषालु रक्सी पिउँदा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। चारै जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए।
विषालु रक्सी पिएर ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुन बिरामी भएका छन्। गम्भीर अवस्थामा रहेका उनीहरूको धौलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूले सोमबार साँझ मदिरा पसलमा स्थानीय मदिरा सेवन गरेका थिए। त्यसपछि सबै बिरामी परेको प्रहरीले जनाएको छ।
बेहोस ६ जनालाई नै धौलागिरि अस्पताल लगिएको थियो। चार जनाको उपचारका क्रममा मृत्यु भएको र दुई जनाको उपचार चलिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिए।
प्रहरीले स्थानीय मदिरा पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हवारीले बताए। (रासस)
विषालु रक्सीसम्बन्धी रिपोर्ट