प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छु : पौडेल
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।
प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल सांसद छिन्। आफ्नो पार्टी प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा रहेकाले देउवालाई विश्वासको मत दिने बताइन्। “हाम्रो पार्टीको निर्णय अनुसार विश्वासको मतको पक्षमा मत दिन्छु,” पौडेलले भनिन्।
प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा जनमोर्चा पनि विपक्षी गठबन्धनमा रहेको थियो। सांसद पौडेलले प्रतिनिधि सभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा बुझाएको निवेदनमा हस्ताक्षर गरेकी थिइन्।
त्यसअघि पनि देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी प्रस्तुत गर्दा पनि पौडेलले समर्थन जनाएकी थिइन्।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जनमोर्चाले पनि समर्थन जनाएको थियो। तर, प्रतिनिधि सभा विघटन गरेपछि जनमोर्चाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षी गठबन्धनसँग उभिएको थियो।