एमाले केन्द्रीय कमिटी बैठक ४ साउनमा, नेपाल पक्षलाई पनि बोलाइयो
नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक ४ साउनमा बोलाइएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा ४ साउन बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए। केन्द्रीय कमिटी बैठक पनि ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बस्ने भएको छ।
एमाले स्थायी कमिटी बैठक पनि आइतबार बिहान ११ बजे च्यासलमै बोलाइएको छ। शुक्रबार पनि स्थायी कमिटी बैठक च्यासलमै बसेको थियो।
एमाले कार्यदलले १० बुँदे सहमति तयार गरेको छ। त्यसलाई स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ। त्यसै आधारमा एमालेलाई २ जेठ, २०७५ मा फर्काउने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको छ। बैठकमा विधान अधिवेशनको तयारीका विषयमा छलफल हुने उनले बताए। एमाले विधान अधिवेशन २५-२७ साउनमा तय गरिएको छ।
केन्द्रीय कमिटी बैठकको अजेन्डा तय गर्न आइतबार स्थायी कमिटी बैठक बोलाइएको हो। स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको छ।
शनिबार एमाले दोस्रो तहका नेताहरूले पनि १० बुँदे सहमतिलाई अगाडि बढाउने निष्कर्ष निकालेका छन्। त्यसकै आधारमा एमाले एकता जोगिने उनीहरूको ठहर छ।