सुन तस्करी अभियोगमा फरार, हुन्डी कारोबारमा पक्राउ
सुन तस्करीको एउटा मुद्दामा ६ महीनादेखि फरार सूचीमा रहेका मिलन विकले आफ्नो अवैध कार्यलाई जारी नै राखेको पाइएको छ।
स्रोत नखुलेको करीब एक करोड रुपैयाँ सहित काठमाडौंको मालीगाउँबाट पक्राउ परेका विक गत कात्तिकमा दोलखामा बरामद साढे ११ किलोग्राम सुन तस्करीका फरार अभियुक्त हुन्। विक र सुमीर सुनारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। हुन्डीको यो रकम समेत सुन तस्करीकै कारोबारको हुन सक्ने अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले बताए।
बाग्लुङका २९ वर्षीय विक साढे ११ किलो सुन तस्करी घटनामा रकम भुक्तानी गर्ने भूमिकामा देखिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। अनुसन्धान प्रतिवेदन अनुसार विकले सनद प्रधानसँग क्रिप्टो र नगदमै कारोबार गरेको प्रमाण भेटिएको थियो। प्रधान सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकहरू ली गोमा लामा र जिया झुबाट अवैध सुन किनेर विभिन्न सामान बनाएर भारत पुर्याउने व्यक्ति रहेको गत मंसीरमा जिल्ला अदालत, दोलखामा दायर गरेको अभियोगपत्रमा उल्लेख छ।
विकले प्रधानलाई २० हजार अमेरिकी डलर क्रिप्टो मार्फत भुक्तानी गरेको प्रधानको मोबाइलमा भेटिएको थियो। डिजिटल फरेन्सिक ल्याबमा प्रधानको मोबाइल परीक्षण गर्दा प्रधानको सानिमा ब्यांकको खातामा साढे नौ लाख रुपैयाँ जम्मा गरिदिएको समेत भेटिएको थियो।
प्रधानले विकलाई वाट्सएपमा विभिन्न ठेगाना दिएर रकम जम्मा गर्न लगाएको पाइएको थियो। जस अनुसार लालबहादुर तामाङको ग्लोबल ब्यांकमा रहेको खातामा १० लाख, गणेश विकको खातामा १० लाख र दीपेश विकको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिदिएको पाइएको थियो। त्यस्तै, प्रधान र विकबीच नौ लाख ९७ हजार ९७८ अमेरिकी डलर अर्थात् १३ करोड रुपैयाँभन्दा बढी क्रिप्टो मार्फत कारोबार भएको फेला परेको थियो।
यस घटनामा संलग्न नौ जनालाई जिल्ला अदालत, दोलखाले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। विकलाई अवैध रकममा अनुसन्धान सकाएर दोलखा प्रहरीलाई बुझाइने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए। दोलखामा दर्ता भएको मुद्दामा अवैध सुन कारोबार, संगठित अपराध, ब्यांकिङ कसूर र एकीकृत कसूरमा सजायको माग दाबी गरिएको छ। यस बाहेक सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चल्ने भएको छ।