दुई लाखको लोभमा पूर्व राज्यमन्त्रीको हत्या गरिएको प्रहरीको दाबी
घरमा काम गर्ने व्यक्तिले नै दुई लाख रुपैयाँ पाउने लोभमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
आर्थिक लेनदेन र जग्गा सम्बन्धी विवादका कारण छिमेकी ४६ वर्षीय वीरेन्द्र रायले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या गराएको पाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले बताए। त्यसका लागि वीरेन्द्रले पूर्व राज्यमन्त्री रायको घरमा काम गर्ने रामउजैन रायलाई प्रयोग गरेको डीएसपी श्रेष्ठको भनाइ छ।
पूर्व राज्यमन्त्री रायको चन्द्रनगर गाउँपालिका-१ स्थित फार्म हाउस र वीरेन्द्रको जग्गा जोडिएको छ। फार्म हाउसको जग्गा आफ्नो भएको वीरेन्द्रले दाबी गर्दै आएका छन्।
मलंगवामा बस्दै आएका राय फार्म हाउसमा आउन लागेको थाहा पाएपछि मार्ने योजना बनाएको प्रहरीको भनाइ छ। त्यसका लागि उनले रायको घरमै काम गर्दै आएका कविलासी नगरपालिका-३, मदनपुरका २५ वर्षीय रामउजैनलाई प्रयोग गरेको पाइएको छ।
हत्या हुनुभन्दा केही दिनअघि आफ्नो जग्गा रायले कब्जा गरेको भन्दै वीरेन्द्रले रामउजैनलाई सुनाएका थिए। “वीरेन्द्रले रामउजैनलाई दुई लाख रुपैयाँ र व्यवसायका लागि फार्म बनाइदिन्छु, त्यसको बदलामा रामचन्द्रलाई मारिदेऊ भनेका थिए,” डीएसपी श्रेष्ठले सुनाए।
त्यसमा रामउजैन राजी भएको र पूर्व राज्यमन्त्री रायको हत्या गरेको डीएसपी श्रेष्ठको भनाइ छ। वीरेन्द्रको उक्साहट र प्रलोभनमा परेर रायको हत्या गरेको रामउजैनले स्विकारेको डीएसपी श्रेष्ठले बताए।
साउन ७ गते राति फार्म हाउसमै पूर्व राज्यमन्त्री रायको हत्या भएको थियो। हत्या भएको खबर पाएपछि पुगेको प्रहरी टोलीलाई रामउजैनले तीन जना रायलाई भेट्न आएको र आफूलाई छतमा सुत्न पठाएको बयान दिएका थिए। तर ‘पोलिग्राफ टेस्ट’ गर्दा उनको बयान झूटो निस्केको डीएसपी श्रेष्ठले बताए।
त्यसपछि केरकार गर्दा रामउजैनले घटना विवरण सुनाएको प्रहरीको भनाइ छ। उनले बताए अनुसार नै हत्यामा प्रयोग भएका हतियार पाइएको छ। घटनास्थलबाट २५ मिटर पश्चिम बाँसको झाडीमा कपाल लागेको फलामको धारिलो हतियार भेटिएको थियो। त्यस्तै, रगत लतपतिएको गन्जी पनि पाइएको छ। जसका तीन टुक्रा पारिएका थिए।
प्रहरीले कर्तव्य ज्यान मुद्दामा वीरेन्द्र र रामउजैनलाई पक्राउ गरेको छ। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको अनुमति पाएको छ।