जमानतमा रिहा भए अरविन्द केजरीवाल
सर्वोच्च अदालतले जमानतमा छोड्न आदेश दिएपछि भारतको राजधानी समेत रहेको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा भएका छन्।
भारतको वित्तीय अपराध र आर्थिक कारोबार सम्बन्धी अनुसन्धान गर्ने सरकारी निकाय प्रवर्तन निर्देशनालय (ईडी)ले गत चैत ८ मा केजरीवाललाई पक्राउ गरेको थियो। त्यसयता उनी थुनामा थिए।केजरीवाल नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका अध्यक्ष हुन्।
सर्वोच्च अदालतले जमानतमा सशर्त रिहा गर्न आदेश दिएको हो। आउँदो जेठ २० गतेसम्मका लागि जमानत दिइएको छ। त्यसपछि केजरीवालले आत्मसमर्पण गर्नुपर्ने शर्त सहित अदालतले अन्तरिम जमानत दिएको हो।
ईडीको गिरफ्तारी विरुद्ध केजरीवालले दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपंकर दत्तको संयुक्त इजलासमा भएको थियो। केजरीवालका वकीलहरूले लोक सभा निर्वाचनको परिणाम जेठ २२ मा मात्र आउने तर्क गरेका थिए। तर इजलासले अन्तिम निर्वाचन जेठ १९ गतेको ४८ घण्टाअघि निर्वाचन प्रचार बन्द हुने भएकाले जेठ २० सम्म जमानत दिने निर्णय सुनायो।
केजरीवालले निर्वाचन प्रचारकै लागि अन्तरिम जमानत पाउन नहुने भनी ईडीले जिकिर गरेको थियो। निर्वाचन प्रचार मौलिक वा कानूनी अधिकार नभएको ईडीको तर्क थियो।