एमाले एकता जोगाउन १० बुँदे सहमति अगाडि बढाउने दोस्रो तहका नेताको निष्कर्ष
नेकपा (एमाले)को दोस्रो तहका नेताहरूले पार्टी एकतालाई जोगाउन कार्यदलले गरेको १० बुँदे सहमतिलाई अगाडि बढाउने निष्कर्ष निकालेका छन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताबीच छलफल भएको छ। छलफलमा कार्यदलमा रहेका ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए। आजको छलफलमा एमाले सचिव भीम आचार्य पनि सहभागी थिए।
उनीहरूले पार्टी एकता जोगाउन १० बुँदे सहमति सहयोगी बन्ने निष्कर्ष निकालेका छन्। छलफलमा सहभागी नेम्वाङले भने, “पार्टीलाई एकताबद्ध बनाउन १० बुँदेलाई नै अगाडि बढाउने भयौं।”
शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले पनि १० बुँदे सहमतिलाई अनुमोदन गरेको उल्लेख गर्दै उनले आजको छलफलमा त्यसलाई अगाडि बढाउने निष्कर्ष निकालिएको बताए। कार्यदलले गरेको सहमति अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकिएको जनाउँदै नेता नेम्वाङले आजको बैठकमा त्यसैमाथि छलफल भएको बताए।
नेपाल पक्षका नेता विष्टले पनि १० बुँदेलाई अगाडि बढाउने निष्कर्ष निस्केको बताए। “सबै साथीहरू बसेर छलफल गर्यौं। पार्टी एकता जोगाउन १० बुँदे सहमति अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष आएको छ,” विष्टले भने।
एमाले एकताका लागि दुवै पक्ष सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको थियो। तर, २८ असारको सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापनासँगै ओली प्रधानमन्त्रीबाट हटेपछि दूरी बढेको थियो।
दुवै पक्षका नेता एक–अर्काको विरोध गर्न थालेका थिए। जसले गर्दा शुक्रबारको स्थायी कमिटी बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन। विवाद बढ्दै गएपछि एमाले दोस्रो तहका नेताहरू छलफलमा जुटेका हुन्।