पहिरोले चीनमा नदीको प्रवाह रोकियो, तामाकोशीमा बाढीको जोखिम
पहिरो जाँदा चीनमा नदीको प्रवाह रोकिएपछि तामाकोशीमा बाढी आउने जोखिम बढेको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन दोलखा जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रप्रसाद तिवारीले गएराति पौने १० बजे सूचना जारी गरी सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार, चीनको तिङ्ग्री काउन्ट्रीको रोङजिया शहर आसपासमा भारी वर्षा भएको छ।
वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको खबर आएको उनले बताए। पहिरोको कारण नदीका प्रवाह गरिएको चिनियाँ अधिकारीले दोलखा जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले बताएका छन्।
पहिरोका कारण रोकिएको नदीको प्रवाह जतिबेला पनि खुल्नसक्ने जनाएको छ। जसले गर्दा तामाकोशी नदीमा बाढी आउनसक्ने जोखिम रहेको छ।
सिन्धुपाल्चोकको मेलम्ची नदीमा पनि पहिरोले नदीको प्रवाह रोकिएको थियो। एकाएक पहिरोले रोकिएको नदी खुलेपछि मेलम्ची नदीमा बाढी आएको थियो। जसले गर्दा हेलम्बु क्षेत्रमा तीन जनाको ज्यान गएको छ भने २० जना अझै बेपत्ता छन्। हेलम्बु र मेलम्ची क्षेत्रका भौतिक संरचना क्षतिग्रस्त भएका छन्।
त्यस्तै, चीनमा थुनिएको नदीको प्रवाह खुल्दा तामाकोशी नदीमा बाढी आउनसक्ने दोलखा जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तामाकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले भनेको छ, “तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू सतर्क र सजग रहन एवं कुनै खतराको संकेन प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान हुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी समेत गराउनुहुन अनुरोध गरिन्छ।