पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
माछापालनका लागि बनाएको पोखरीमा डुबेर धनुषामा पाँच बालिकाको ज्यान गएको छ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ स्थित खेतमा माछापालनका लागि पोखरी बनाइएको थियो। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर पाँच बालिकाको मृत्यु भएको प्रदेश २ का प्रहरी नायव महानिरिक्षक (डीआइजी) धिरजप्रताप सिंहले बताए। घटनास्थल जनकपुरदेखि २० किलोमिटर दक्षिणमा पर्छ।
डीआईजी सिंहका अनुसार लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साहको ज्यान गएको हो। पाँच जना बालिकाको मृत्यु भएपछि पूरै गाउँ शोकमा डुबेको छ।
स्थानीय हुलास यादवले खेतमा माछापालनका लागि पोखरी बनाएका थिए। पाँच जना बालिका बाख्रा चराउन गएका थिए। दिउँसोको गर्मीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेको डीआईजी सिंहले बताए।
एक जना डुबेपछि बचाउने क्रममा अरु पनि डुबेको हुनेसक्ने प्रहरीको अनुमान छ।