प्रधानमन्त्री ओलीको सम्बोधन : देशभरका सबै ठूला अस्पताल र मेडिकल कलेज अब कोभिड अस्पताल
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै देशभरका सबै ठूला अस्पताल र मेडिकल कलेजलाई अब कोभिड अस्पताल बनाइने बताएका छन्।
काठमाडौँमा वीर अस्पतालको नयाँ भवन, त्रिचन्द्र सैनिक अस्पताल लगायत अस्पताललाई कोभिड अस्पतालका रूपमा प्रयोग गरिनेछ। उनले भने, “वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ।”
प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पताल बनाउने र साना अस्पताललाई नन–कोभिड अस्पतालका रूपमा प्रयोग गर्ने उनले बताए। सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको पनि उनले जानकारी दिए।
त्यस्तै, नेपाली सेनाले राजधानीबाहिर एक हजार शय्याको अस्पताल बनाउने उनले बताए। सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्धमध्ये प्रयोग भएका र नभएका शैय्याको दैनिक विवरण अद्यावधिक गरेर अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्नेछ। कुनै अस्पतालले विवरण पूरा नपठाई शैय्या लुकाएको भेटिए कारबाही गरिने उनले बताए।
ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने र बिग्रेकालाई मर्मत गर्ने समेत प्रधानमन्त्री ओलीले बताए। कोरोनाभाइरस फैलन नदिन सरकारी तथा अन्य कार्यालयमा एकचौथाइ कर्मचारीबाट कार्य गर्ने व्यवस्था गरेको उनले बताए। ओलीले सबै जनतालाई सचेत रहन आह्वान समेत गरे।