जनमोर्चा सांसद शाहीले भने- पार्टी निर्णयप्रति प्रतिबद्ध छु, स्वस्थ भएपछि प्रष्ट पार्नेछु
गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन्। अस्पतालबाटै विज्ञप्ति जारी थप प्रश्नबारे स्वस्थ भएपछि स्पष्ट पार्ने जनाएका छन्।
बुधबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुन लाग्दा उनी गायब भएका थिए। साँझ अस्पतालमा उपचार गराइरहेको अवस्थामा भेटिएका थिए।
त्यस विषयमा विभिन्न प्रश्न उठ्न थालेपछि उनले आज अस्पतालबाट प्रेस विज्ञप्ति जारी गरी अकस्मात् बिरामी भएपछि अस्पताल गएको जनाएका छन्। “म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु,” उनले भनेका छन्, “म अहिले उपचाररत छु, हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसूस गरेको छु। म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु।”
अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भइरहेका खबरमा विश्वास नगर्न आग्रह गरेका छन्। उनले पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन्। शाहीले भनेका छन्, “पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरूप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ।”
जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गरेको छ। त्यसअघि मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।
जनमोर्चाले साथ दिने भएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
बुधबार अविश्वास प्रस्तावमाथि मतदान हुने क्रममा सांसद शाही गायब भएका थिए। उनलाई बेपत्ता पारिएको भन्दै जनमोर्चाले प्रदेश सभामा निवेदन दिएको थियो। उनको अवस्था सार्वजनिक नहुँदासम्म अविश्वास प्रस्ताव अघि नबढाउन आग्रह गरेको थियो।
जनमोर्चाको निवेदनपछि प्रदेश सभाका सभामुखले संसद् बैठक स्थगित गरेका थिए।