बाँकेपछि सुर्खेत र बर्दियामा पनि निषेधाज्ञा
कोरोनाको दोस्रो लहर चलेसँगै केही शहरहरू उच्च जोखिममा परेका छन्। उच्च जोखिममा परेका शहर तथा जिल्लामा निषेधाज्ञा जारी गर्न थालिएको छ।
कोरोनाको केन्द्र बनिरहेको बाँकेपछि बर्दिया र सुर्खेतमा पनि निषेधाज्ञा जारी गरिएको छ। संक्रमण तीव्र रूपमा फैलिन थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो।
जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। उनका अनुसार, १४ वैशाख राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो।
भीडभाड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गर्नुपरेको प्रजिअ रिजालले बताए। अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बैंक तथा वित्तीय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।
यससँगै कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरूलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिने निर्णय गरिएको छ। भारतबाट आउने कर्णालीका नागरिकलाई सीमानाकामै परीक्षण गरेर संक्रमितलाई नेपालगन्जमै उपचारको व्यवस्था गर्ने पहल भइरहेको उनले बताए।
यस्तै, बर्दियामा पनि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। आज बसेको विपद् व्यवस्थापन केन्द्रको बैठकले आज राति १२ बजेदेखि १९ वैशाखसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।
कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको उनको भनाइ छ। यो अवधिमा स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकास निर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको उनले बताए।