आजबाट कोरोना खोपको दोस्रो डोज लगाइँदै (तालिकासहित)
कोभिड-१९ विरुद्धको खोपको दोस्रो डोज आजबाट लगाइने भएको छ। यसका लागि राजधानीका १९ अस्पताल तोकिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार, पहिलो चरणमा खोप लिएका पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई आजबाट १० वैशाखसम्म दोस्रो डोज लगाइनेछ। जसमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारी रहेका छन्।
यसका लागि स्वास्थ्य मन्त्रालयले राजधानीका १९ अस्पतालमा खोपको दोस्रो डोज लगाउने व्यवस्था गरेको छ। जसमा महाबाैद्धस्थित वीर अस्पताल, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र मीनभवनस्थित निजामती कर्मचारी अस्पताल छन्।
त्यस्तै, चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी अस्पताल, कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालय, छाउनीस्थित वीरेन्द्र अस्पताल र पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालमा कोरोना खोपकाे दोस्रो डोज लगाउन सकिनेछ।
यसैगरी कोरोना खोपकाे दोस्रो डोजका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, बालाजुस्थित जनमैत्री अस्पताल, जडीबुटीस्थित मदरल्यान्ड अस्पताल, ज्ञानेश्वरस्थित हिमाल अस्पताल, बौद्धस्थित स्तूपा अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पताल तोकिएका छन्।