कर्णाली प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा, माओवादी सरकार अल्पमतमा
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन्।
अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन्।
तीनै जनाले भर्खरै राजीनामा बुझाएको उद्योगमन्त्री नन्दसिंह बुढाले हिमालखबरलाई जानकारी दिए।
राजीनामा दिएका तीनै जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका हुन्। एमाले कर्णाली संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि उनीहरूले राजीनामा दिएका थिएनन्।
मुख्यमन्त्री शाही अल्पमतमा
एमालेका तीन मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ। शाही नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका हुन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीका १३ सांसद छन्। २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि शाही अल्पमतमा परेका छन्।
प्रदेश सभामा कांग्रेसका ६ र राप्रपाकाे एक सांसद छन्। सरकार गठनका लागि एमालेलाई अन्य दलको एक सीट भए पुग्छ।