प्रहरी र तस्कर समूहबीच सीमा क्षेत्रमा गोली हानाहान
कैलालीको भजनी नगरपालिका, मोरियाघाटस्थित नेपाल–भारत सीमानाकामा सोमबार राति भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।
सीमा क्षेत्रबाट ठूलो मात्रामा लागूऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए। “भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो,” प्रहरी निरीक्षक थापाले भने, “बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउन्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउन्ड जबाफी फायर गर्नुपर्याे।”
घटनामा भारतको उत्तर प्रदेश, लखिमपुरखिरी जिल्लाको तिकुनियाका निज सिंह घाइते भएको प्रहरीले जनाइएको छ।
गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेका छन्। घटनास्थलबाट एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। (रासस)