भारतबाट आउनेको एन्टिजिन परीक्षण गर्दा २४ जनामा पोजेटिभ
पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजिन परीक्षण गर्दा २४ जनाको नतीजा पोजेटिभ आएको छ।
सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा केहीको नतीजा पोजेटिभ आएको हो। त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टिजिन परीक्षण गरिएको थियो। उनीहरूमध्ये २२ को नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।
त्यस्तै, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका दुई जनाको एन्टिजिन परीक्षण नतीजा पोजेटिभ आएको छ। कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टिजिन परीक्षण गरिँदै आएको छ।
दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७०० देखि १ हजारको हाराहारीमा छ। भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन्।
रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्या पनि बढिरहेकै छ। शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३०५ नेपाली र १२५ भारतीय नागरिक भारततर्फ गएका छन्। सीमानाका गड्डाचौकी भएर ३०० भारतीय र १५ नेपाली भारततर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ।