सरकारी वार्ता टोली र थारू समुदायका प्रतिनिधिबीच वार्ता हुँदै
सरकारी वार्ता टोलीले आज थारू कल्याणकारिणी सभा (थाकस)का प्रतिनिधिसँग वार्ता गर्न लागेको छ।
आज दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुने सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले हिमालखबरलाई बताए।
त्यस्तै, थाकसका महामन्त्री प्रेमीलाल चौधरीले आफूहरू पनि टोली बनाएर वार्तामा सहभागी हुन लागेको जानकारी दिए। कल्याणकारिणी सभा, थरुहट–थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले १९ बुँदे माग राखेको छ।
उनीहरूका माग सम्बोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन्।
थरुहट संघर्ष समितिले सरकारसमक्ष रेशम चौधरीको रिहाइ लगायतका १९ बुँदे माग राखेको छ। कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित चाैधरी टीकापुर घटना सम्बन्धी मुद्दामा जेलमा छन्।