वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन
वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन भएको छ।
नेता मानन्धरको सोमबार राति ८ः२० बजे पाटन अस्पतालमा निधन भएको उनका ज्वाइ डा. नारायण श्रेष्ठले बताए। उनी एक महीनादेखि पाटन अस्पतालमा उपचाररत थिए।
राणाविरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमानदार नेताका रूपमा परिचित छन्। जिन्दगीभर कुनै पनि सरकारी पद नलिएका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए।
नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान रहेको छ। विसं २०४६ को जनआन्दोलनपछि मन्त्री बन्न आग्रह गरिए पनि उनले नीलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए।
संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त)सम्मको स्थापनामा महत्त्वपूर्ण योगदान गरेका मानन्धरले सर्वहारा नेताका रूपमा आफूलाई स्थापित गरेको पूर्वमन्त्री गणेश शाह बताउँछन्। “नेता मानन्धरले जिन्दगीभर ‘मलाई कुनै पनि सरकारी सेवा तथा सुविधाको पद चाहिंदैन, नेपाली जनताको हितबाहेक मेरा लागि अरू सबै विषय गौण हुन्’ भन्ने मान्यता राख्नुभयो,” शाह भन्छन्।
नेता मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधैं प्रतिवाद गर्दै आएका थिए। उनका एक छोरा र तीन छोरी छन्।