सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गर्ने सहायक वन अधिकृतलाई जरिवाना
सहकर्मी महिलालाई फेसबुक म्यासेन्जरबाट भिडियो कल गरी यौन दुर्व्यवहार गर्ने डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका तत्कालीन सहायक वन अधिकृतलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जरिवाना गरेको छ।
महिला कर्मचारीले दिएको उजुरीमाथि छानबिन गर्दै जिल्ला प्रशासन कार्यालयले सहायक वन अधिकृत तुलाराम घिमिरेलाई रु. ५० हजार जरिवाना गरेको हो। उनले पीडित महिलालाई क्षतिपूर्तिबापत रु. ५० हजार तिर्नुपर्ने प्रशासनले फैसला गरेको हो।
जिल्ला प्रशासन कार्यालयको फैसलामा भनिएको छ, “प्रतिवादी तुलाराम घिमिरेले गरेको कार्य कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ को दफा ४ को उपदफा १ को खण्ड ख बमोजिमको कसुरजन्य कार्य भएको देखिँदा निज प्रतिवादी तुलाराम घिमिरेलाई यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ को दफा १२ को उपदफा १ बमोजिम ६ महीना कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने छ भन्ने कानुनी व्यवस्था बमोजिम निज प्रतिवादीलाई जरिवाना ५० हजार र पीडित निवेदकलाई क्षतिपूर्ति बापत रु. ५० हजार दिलाई भराई दिनु भन्ने फैसला गरिएको छ।”
हाल डिभिजन वन कार्यालय नुवाकोटमा कार्यरत घिमिरेलाई १३ साउन, २०७७ को दिउँसो भिडियो म्यासेन्जरमा कल गरी आफ्नाे यौनांग देखाएको आरोप लागेको थियो। त्यस घटनापछि डिभिजन वन कार्यालय, सिन्धुपाल्चोकबाट उनको सरुवा भएको थियो।
उनीमाथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशले अनुसन्धान गरेर कारबाहीका लागि प्रक्रिया अघि बढाएर फायल संघीय वन तथा वातावरण मन्त्रालय पठाएको थियो। तर, मन्त्रालयको प्रक्रियागत ढिलासुस्तीका कारण उनीमाथिको कारबाही अघि बढ्न सकेको थिएन।