दोस्रो चरणको खोप अभियान प्रारम्भ, प्रधानमन्त्री ओलीले लगाए खोप
कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खाेप अभियान प्रारम्भ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको खोप अभियानको शुरुआत गरेका छन्।
आइतबार प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर खोप लगाएका हुन्। त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि खोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिडविरुद्धको अभियान सफल पार्न अनुरोध गरेका छन्। खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन उनले आग्रह गरे।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ। पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरिएको छ।
दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालिएको हो। २० दिनसम्म चल्ने अभियानमा १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए। यो अभियान अन्तर्गत हिमाली क्षेत्रका १५ जिल्लामा भने ५५ वर्षमाथिका नागरिकलाई खोप लगाइनेछ।
खोप अभियानका लागि ६ हजार खोप केन्द्र तोकिएका छन्। पहिलो चरणमा १४ माघदेखि १० फागुनसम्म चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो।
पहिलो चरणमा भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाइएको थियो। दोस्रो चरणका लागि सरकारले भारतबाट २० लाख डोज खोप खरीद गरेको छ। जसमध्ये १० लाख डोज आइसकेको छ भने बाँकी १० लाख डोज केही दिनमै आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोभ्याक्स सुविधाबाट आइपुग्यो पहिलो खेप
कोभ्याक्स सुविधाअन्तर्गत आइतबार पहिलो खेपमा खोप आइपुगेको छ। पहिलो खेपमा ३ लाख ४८ हजार डोज खोप आएको हो।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप हस्तान्तरण गरिएको छ। कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनमार्फत् खोप आएको हो।