चन्द नेतृत्वको नेकपा र सरकारबीच वार्ताको तयारी
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारबीच वार्ताको तयारी भएको छ।
सरकारले केही दिनभित्रै नेकपासँग वार्ता गर्ने एक मन्त्रीले बताए। “अहिलेसम्म अजेन्डाबारे छलफल भएको छैन, सँगै बसेपछि छलफल हुन्छ,” ती मन्त्रीले भने।
नेकपा पनि वार्ताका लागि सकारात्मक देखिएको उनले बताए। “तपाईंहरू उदार बन्नुस्, सरकार त तयार छ भनेका थियौं। उहाँहरूले वार्ताका लागि उदारता देखाउनुभएको छ,’’ उनले भने, ‘‘अहिलेसम्म विषयवस्तु सकारात्मक ढंंगले अघि बढेको छ।”
नेकपा महासचिव चन्दले पनि ८ फागुनमा विज्ञप्ति जारी गरी क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको जिकिर गर्दै जनतामा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि तयार रहेको बताएका थिए।
यसअघि सरकारले वार्ता टोली गठन गरेको भए पनि नेकपा तयार भएको थिएन। अहिले भने नेकपा पनि तयार भएको ती मन्त्रीले बताए। उनले भने, “उहाँहरू तयार भएपछि त सरकार मिलाएर लैजाने पक्षमा नै छ। पहिला सरकारले वार्ता टोली गठन गरे पनि वार्ता हुन सकेको थिएन।”
चन्द नेतृत्वको नेकपासँग वार्ताका लागि खानेपानीमन्त्री मणिचन्द्र थापा पनि पहल गरिरहेका छन्। वार्ताकाे पहल सकारात्मक ढंगले अघि बढेको मन्त्री थापाले बताए।