ओलीको प्रश्न : जनता हाँसेकोमा किन पीर ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबाट नेपाली जनता खुशी भएर हाँसेकोमा पार्टीभित्रकै केही मानिसहरूलाई पीर परेको टिप्पणी गरेका छन्। देश बर्बाद पार्न नपाएको चिन्ता मानेकाहरूले जनताको खुशीलाई देख्न नसकेको उनको दाबी छ। सरकारले सम्पूर्ण जनताको खुशीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरूको प्रयास सफल हुन नदिने दाबी गरे।
शनिबार नेकपाको आफू पक्षीय प्रदेश–१ को सम्पर्क कमिटीले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्दै गएको समेत बताए।
“केही मान्छेहरू कोकोहोला मच्चाएर हिँडेका छन्। केहीलाई पीर पनि परेको छ। ओलीले संविधान च्यात्यो रे कहाँ देख्नुभयो उहाँहरूले ? संविधान च्यात्यो। धुजा धुजा पा¥यो। यस्तो देशै वरबाद हुन लागेको बेला पनि केपी ओली मुस्कुराई राखेको छ”, ओलीले भने, “उहाँहरूले देश बर्बाद पार्न नपाएकोमा चिन्ता मात्रै हो। उहाँहरूले देश बर्बाद पार्न खोज्नुभएको थियो। के म मान्छे मार्दै, विधुवा बनाउँदै, दुनियाँलाई रुवाउदै हिँडू ? नेपाली जनता हाँसेकोमा किन पीर परेको होला ?”
प्रधानमन्त्री ओलीले नेकपाको माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहलाई संसदीय प्रणालीको अभ्यास र बहस गर्न सुझाव दिए। उनले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा रोष प्रकट गरे।
निर्वाचन नचाहने र सत्ता कब्जा गर्ने मनसायले अघि बढेकाहरूले निर्वाचनको विरोध गर्नुको साथै अदालतलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको ओलीको दाबी छ। लोकतन्त्रका कुरा गर्ने तर, निर्वाचनमा जान डराउनेहरूले आयोग पुगेर चुनाव चिन्हमा दाबी गरेको ओलीको टिप्पणी छ। एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेकोहरूले सूर्य चिन्हमा दाबी गरेको भन्दै उनले भने, “सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस्।”
न्यायाधीशलाई भेटेको छैन
प्रधानमन्त्री ओलीले न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिए। “मैले यसपटक मात्रै होइन। शायद कहिलेही भेटेको छैन”, ओलीले भने, “न्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ। उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ?”
उनले मिडियामार्फत् लोकतान्त्रिक संस्थाहरूमाथि हमला गर्ने काम भएको टिप्पणी गरे।
“एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ। हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ। न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ। लाज पनि लाग्न पर्छ। लोकतान्त्रिक संस्थाहरूमाथिको हमला”, ओलीले भने।
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधि सभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन्।