गृहमन्त्री थापाले भने- ‘संसद विघटन साहसिक कदम हो’
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभा विघटन सरकारको साहसिक कदम भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसदभित्र राजनीतिक कू गर्न लागिएपछि त्यसलाई रोक्न संसद नै विघटन गर्नुपरेको समेत बताए।
“नेकपाको दुई तिहाइको मत छ। यो स्थिरताको संयन्त्रको रूपमा थियो। कमरेडहरूले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोज्नुभयो। त्यसकारणले यसको औचित्य सकियो भनेर प्रधानमन्त्रीले आफ्नो विशेष अधिकारलाई प्रयोग गर्नुभयो”, थापाले भने, “यो एउटा संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम हो। राजनीतिक कु लाई रोक्ने, प्रतिगमनलाई रोक्ने यो एउटा ठूलो राजनीतिक कदम हो। यो ठूलो साहसिक कदम पनि हो।”
सरकारले चालेको कदम अदालतमा प्रवेश गरिसकेकाले यो कदम अग्रगामी हो वा होइन भन्ने अदालतले फैसला दिने थापाले बताए।