हिन्दु राष्ट्र र राजसंस्थाका लागि राप्रपाले १७ पुसमा उपत्यकामा प्रदर्शन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १७ पुसमा काठमाडौंमा उपत्यकामा प्रदर्शन गर्ने भएको छ। राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो।
शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने बताए। पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको राणाले बताए।
राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र १७ पुसमा काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको उनले बताए।
सरकारले जनताको अभिमतको दुरूपयोग गरिरहेकमा विरोध तथा मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न दबाब दिन पनि आन्दोलन आवश्यक रहेको राणाको भनाइ छ।
अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले राप्रपा सडकमा उत्रनुपरेको बताए। कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रूपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अब हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए।
यस्तै, अध्यक्ष प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पूर्णरूपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए।