उखुको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ पूर्जी जारी, ८ उद्योगले तिरेनन् रू. एक अर्ब
उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेका छन्। गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि निर्देशन दिएपछि स्थानीय प्रशासनबाट पक्राउ पूर्जी जारी भएको हो।
उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेका छन्। वर्षौंदेखि भुक्तानी नदिएका कारण उखु किसान आन्दोलनमा उत्रिएपछि ३० मंसीरमा (मंगलबार) गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि निर्देशन जारी गरेको थियो।
गृहको निर्देशनपछि बुधबार उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्रन पूर्जी जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। यादव भन्छन्, ‘‘गृह मन्त्रालयको निर्देशनपछि आफ्नो क्षेत्रमा पर्ने श्रीराम चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न पूर्जी जारी गरिएको हो। अब सम्बन्धित क्षेत्रका प्रहरीले उखु किसानको भुक्तानी नदिने उद्योगी जहाँ छन्, त्यहीँबाट पक्राउन गर्न सक्नेछन्।’’
रौटहट बाहेक अन्यत्र रहेका उद्योगलाई सम्बन्धित जिल्ला प्रशासनले पक्राउ पूर्जी जारी गरेको जानकारी दिएका छन्। उखु किसानको भुक्तानी नदिने पाँचजना उद्योगीविरुद्ध गृह मन्त्रालयले पक्राउ पूर्जी जारी गर्न निर्देशन दिएको हो।
पक्राउ पूर्जी जारी गरिएका उद्योगीहरूमा इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल, लुम्बिनी सुगर मिलका सञ्चालक सुशीला गोयल र श्रीराम सुगर मिलका सञ्चालकका तर्फबाट हितेश गोल्छा, विशाल अग्रवाल र अनुज अग्रवासहित रहेका छन्।
किसानलाई विभिन्न ८ वटा चिनी मिलले करीब रू. १ अर्ब २९ करोड भुक्तानी गर्न बाँकी छ। भुक्तानी बाँकी राख्नेमा एभरेष्ट सुगर एण्ड केमिकलको रू. ३९ करोड ७२ लाख, अन्नपूर्ण सुगर मिल्सको रू. ३२ करोड २८ लाख बाँकी छ।
किसानकाे रकम भुत्तानी बाँकी राख्नेमा श्रीराम सुगर मिल्सको रू. ३५ करोड, लुम्बिनी सुगर मिल्सको रू. ९ करोड १६ लाख, इन्द्र सुगर एग्रोको रू. ५ करोड, हिमालय सुगर मिल्सको रू. २ करोड ६१ लाख, बाबा बैजुनाथको रू. २ करोड ५३ लाख, इस्टेन सुगरको रू.१ लाख रहेको छ।