नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्छौंः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुलुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिवद्धता जनाएका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्ने बताए।
पाकिस्तानस्थित् विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटूू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका हिमआरोहीहरू मिङ्मा ग्याल्जेन शेर्पा, दावा ग्याल्जेन शेर्पा र किली पेम्वा शेर्पालाई नेपालको राष्ट्रिय झण्डाका साथ विदाई गर्न शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथालगायतको आरोहण गरेर हिमाल आरोहीहरूले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
“नेपाललाई विश्वमाझ चिनाउन हिम आरोहीहरूले खेल्नु भएको भूमिका महत्वपूर्ण छ”, मन्त्री गुरुङले भने, “अब नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्न लागि पर्नेछु।”
मन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अझै जोड दिएर मुलुुकलाई सूचना प्रविधिमैत्री बनाउन सकिने पनि स्पष्ट पारे। उनले दोलखाको रोल्वालिङ हिमाल आरोहरणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान कायम राख्नेहरूको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताए।
माउन्ट केटू आरोहणमा लागेका मिङ्मा, दावा र किलीले सगरमाथाको पटक–पटक आरोहण गरिसकेका छन्। आरोहण दलका सदस्यहरूलाई मन्त्री गुरुङले आफ्नो एक महीनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गरेका थिए भने गौरीशंकर गाउँपालिकाले २ लाख सहायता उपलब्ध गराएको थियो।