डा. गोविन्द केसीले भने- ‘मेरो उपचार खर्च म आफैं व्यहोर्छु, सरकारले नागरिकप्रतिको कर्तव्य पूरा गरोस्’
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले व्यहोर्ने भनेको उपचार खर्च अस्वीकार गरेका छन्। शुक्रबार कोरोनाभाइरस संक्रमित भएर महाराजगञ्जस्थित् शिक्षण अस्पतालमा उपचाररत केसीले सरकारको सहयोग अस्वीकार गर्ने बताएका हुन्।
शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरेका थिए। उनले डा. केसीको स्वास्थ्य लाभको कामना पनि गरेका थिए।
त्यसपछि शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै डा. केसीले आफ्नो उपचार खर्च आफैले व्यहोर्ने बताएका हुन्। उनले बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्नुपर्ने बताएका छन्। स्वास्थ्यलाभको कामनाका लागि डा. केसीले प्रधानमन्त्रीलाई धन्यवाद समेत भनेका छन्।
‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ, उनीहरूले अहिलेसम्म उपचार पाउन सकेका छैनन्। त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च व्यहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च व्यहोर्नेमा हुनुपर्दछ’, डा. केसीले भनेका छन्।
उनले अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन भएको भए देशमा उपचारको समस्या नहुने पनि बताएका छन्।
‘हामीसँग पटक-पटक गरिएका सम्झौता कार्यान्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरूको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’, डा. केसीले भनेका छन्, ‘तसर्थ हामीसँग १९औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्नुहुन अनुरोध गर्दछु।’