पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा पत्नी हिसिला यमीलाई कोरोना संक्रमण
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोनाभाइरस संक्रमण भएको छ।
भट्टराईले ट्विट गर्दै दुवै जना संक्रमित भएको उल्लेख गरेका छन्। आफूहरु ‘होम आइसोलेसन’ रहने भन्दै उनले केही दिन यता आफूहरुको सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
भट्टराईले लेखेका छन्, “हिसिला र म दुवैलाई कोभिड(१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!”
उनी गएको मंगलबार जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा सहभागी थिए। उक्त बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको थियो। जनता समाजवादीको केन्द्रिय समिति ८०१ सदस्यीय छ। यसअघि ७०१ सदस्यीय रहेको केन्द्रिय समितिमा मंगलबारको बैठकले १०० जना थप गरेको थियो।