बन्दाबन्दीले दलित समुदायमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
कोभिड-१९ तथा बन्दाबन्दीका कारण दलित समुदायमा परेको प्रभावका बारेमा समता फाउण्डेसनले पाँच महीना लगाएर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
दलित समुदायमा कोरोना भाइरस तथा बन्दाबन्दी सम्बन्धी ज्ञान, व्यवहार बुझाई, दलित समुदायको जीविकोपार्जनमा परेको प्रभाव लगायतका विषयमा अध्ययन गरिएको फाउण्डेसनले जनाएको छ।
अध्ययनमा ७ प्रदेशका ७७ जिल्ला अन्तर्गतका ७५३ स्थानीय तहका १५०० जना दलित समुदायका उत्तरदाताहरूसँग टेलिफोन तथा अनलाइन सर्वेक्षण विधिबाट अध्ययन गरिएको थियो।
यसका साथै, ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरू, प्रदेश सांसदहरू, तथा स्थानीय दलित तथा गैरदलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूगरी ३५ जनासँग अन्तरवार्ता लिइएको फाण्डेसनले जनाएको छ।
अध्ययनले दलित समुदायमा स्वास्थ्य तथा आर्थिक कार्यक्रमहरूको पहुँच कम रहेको र सरकारले वितरण गरेको राहत कार्यक्रम पर्याप्त नभएको देखाएको छ। त्यसैगरि दलित समुदायमा कोरोनाका कारण लगाइएको बन्दाबन्दीको क्रममा स्वास्थ्यसँगै आर्थिक र खाद्यान्न संकट परेको देखिएको जनाइएको छ।
अध्ययन सर्वेक्षणमा सहभागी मध्ये ४५ प्रतिशतले बन्दाबन्दीको समयमा रोजगारी गुमाएको बताएका छन् भने १८ प्रतिशतले राहत वितरणमा जातीय विभेद भएको बताएका छन्।
यसैगरि दलित समुदायमा कोरोना सम्बन्धी पर्याप्त ज्ञान र सूचनाको अभाव देखिएको छ। अध्ययनमा ६५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिलाहरूको सहभागिता रहेको फाण्डेसनले जनाएको छ।
त्यसैगरी, ३१ देखि ४५ वर्ष उमेर समूहका उत्तरदाता ४३ प्रतिशत रहेका थिए भने २ प्रतिशत उत्तरदाता ६० वर्ष भन्दा मथिको उमेर समूहका रहेका थिए।