भियनामा आठ महीने शिशुसहित तीन छोरीको हत्या आरोपमा नेपाली महिला पक्राउ
अष्ट्रियाको राजधानी भियनामा आफ्नो आठ महीने शिशुसहित तीन छोरीको हत्या अभियोगमा नेपाली मूलकी एक महिला पक्राउ परेकी छिन्।
तीनै जना बालिकाको श्वास थुनिएको कारण मृत्यु भएको भियनाको सञ्चारमाध्यम विनर जेइटुङलाई उधृत गर्दै द सनले जनाएको छ। मृत्यु हुनेमा आठ महीने शिशुसहित अरु तीन र नौ वर्षका बालिका छन्।
३१ वर्षीया ती महिलाले आफूले नै छोरीहरुको हत्या गरेको बयान दिएको त्यहाँको प्रहरीले जनाएको छ। उनले छोरीहरुको हत्यापछि आत्महत्या गर्न चाहेको पनि प्रहरीलाई बताएकी छिन्।
उनी घाइते अवस्थामा पक्राउ परेकी छिन्। त्यहाँको प्रहरीका प्रवक्ता पाउल एइडेनबर्गरले भनेका छन्, “तत्काल उक्त घरमा गरिएको खोजबिनमा दुई बालिका स्पष्टरुपमा मृत भेटिएका थिए। अर्की एउटी बालिकालाई अस्पताल पु¥याइए पनि बचाउन सकिएन।”
यो घटना स्थानीय समयअनुसार शनिबार बिहान ५ः२० मा भएको थियो। अहिले उनी सोधपुछका लागि मानसिक रुपमा स्वस्थ भए नभएको अनुसन्धान भइरहेको जनाइएको छ।
उनका श्रीमान् पनि भियनामा नै बस्छन्। तर, उनीहरु छुट्टाछुट्टै बस्ने गरेका छन्। उनीहरुको नाम र नेपालको ठेगाना समाचारमा उल्लेख गरिएको छैन।