वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल र लुम्बिनी विकास कोषको सदस्य-सचिवमा शाक्य नियुक्त
सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धकमा डिमप्रसाद पौडेल र लुम्बिनी विकास कोषको सदस्य-सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले पौडेल र शाक्यलाई चार वर्षका लागि नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए।
वायुसेवा निगममा यसअघि पदावधि नतोकी कार्यकारी अध्यक्षमा पूर्व पर्यटन सचिव सुशील घिमिरेलाई नियुक्त गरिएकोमा उनको जिम्मेवारी अब अध्यक्ष हुनेछ। निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी घिमिरेले गर्ने र निगमलाई गति दिन पौडेलले सक्रिय भूमिका निर्वाह गर्ने गरी नियुक्त गरिएको मन्त्री भट्टराईले बताए।
यसअघि घिमिरेको अध्यक्षतामा गठित वायुसेवा निगम सुधार कार्यदलको सदस्यमा पौडेल पनि थिए।
चार्टर्ड एकाउन्टेन्ट पौडेल विगतमा पर्यटन मन्त्री भट्टराई तत्कालीन नेकपा एमालेको प्रचार विभाग प्रमुख भएका बेला सदस्य थिए।
बतास अर्गनाइजेसनका सीईओ रहेका पौडेलले निगमको महाप्रबन्धक हुने भएपछि त्यहाँबाट राजीनामा दिइसकेका छन्।