वाइफाइ विस्तारमा वर्ल्डलिंकको फेसबुकसँग सहकार्य, वर्षेनी १० हजार स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले वर्षेनी १० हजार स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ दिने भएको छ। वर्ल्डलिंकले बिहीबार भर्चुअल अन्तरक्रिया कार्यक्रम गरेर फेसबुकसँगको सहकार्यमा देशैभर १५ मिनेटदेखि एक घण्टासम्मको निःशुल्क वाइफाइ सेवा दिने घोषणा गरेको हो।
ग्राहकले तोकिएको भन्दा थप समय सेवा लिनका लागि भने एउटा छोटो भिडिओ हेरेपछि समय बढाउन सक्छन्। यस्तो भिडिओमा हाल स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिडको जोखिम न्यूनिकरणको भिडिओ रहेको पनि वर्ल्डलिंकले जानकारी दिएको छ।
यो सेवा एकपटक लिएपछि जुनसुकै स्थानमा पनि काम लाग्ने गरी सुविधा थप भएको छ। वर्ल्डलिंकका अनुसार एक पटक निःशुल्क वाइफाइमा मोबाइल नम्बर राखेर कनेक्ट गरेपछि जुनसुकै स्थानमा पुगेपनि चलाउन मिल्छ। वर्ल्डलिंकका अनुसार यो सेवा सार्वजनिक स्थानमा जहाँ पुगे त्यहीँ प्रयोग गर्न सकिने छ।
वर्ल्डलिंकले अहिले नै विभिन्न स्थानमा प्रयोग गरिरहेको निःशुल्क हटस्पटलाई एक्सप्रेस वाइफाइ बनाएको छ। वर्ल्डलिंकले ६ महीनाअघि नै यसको तयारी गरिरहेको थियो भने औपचारिक शुरूआत भने बिहीबार मात्रै गरेको हो।
यसअघि यही एक्सप्रेस वाइफाइको प्रयोग काठमाडौंमा भएको दक्षिण एशियाली खेलकूद (साग)मा प्रयोग भइसकेको वर्ल्डलिंकले जानकारी दिएको छ। अब भने सार्वजनिक स्थानदेखि इन्टनरेटको पहुँच नभएको र मोबाइल डाटा प्रयोग गर्न नक्सने वर्गलाई लक्षित गरेर यो सेवालाई विस्तार गरिएको वर्ल्डलिंकका अध्यक्ष अमित अग्रवालले बताए।
एक्सप्रेस वाइफाइ निःशुल्क भएपनि सीमित समयको शर्त भने तोकिएको छ । वर्ल्डलिंकले सन् २०१८ देखि नै फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याएको थियो।
अबको सेवा फेसबुकसँगको सहकार्यमा हुनेछ। फेसबुकले सफ्टवेयर प्लेटफर्म दिएर एक्सप्रेस वाइफाइलाई थप विस्तार गरिएको वर्ल्डलिंकले जनाएको छ।