देशको चालु खाता झण्डै चार वर्षपछि सकारात्मक
देशको चालु खाता झण्डै चार वर्षपछि सकारात्मक भएको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति' प्रतिवेदनका अनुसार, साउन महिनामा चालु खाता रु. २५ अर्ब ४१ करोड बचतमा पुगेको छ।
राष्ट्र ब्यांकको अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टका अनुसार, २०७३ मंसीरपछि चालु खाता सकारात्मक भएको यो पहिलोपटक हो। २०७३ मंसीरमा देशको चालु खाता रु. ३ अर्ब ४९ करोड बचतमा थियो। त्यसयता, लगातार घाटामा रहेको चालु खाता साउनमा बचतमा पुगेको हो। गत वर्षको साउनमा चालु खाता रु. ९ अर्ब ३४ करोडले घाटामा थियो।
आयात खस्किएको तथा रेमिटेन्सको उच्च आप्रवाहका कारण चालु खाता सकारात्मक भएको हो। साउनमा विदेशबाट वस्तु आयात १९.६ प्रतिशतले घटेको छ । त्यस्तै, रेमिटेन्स २३ प्रतिशतले बढेर रु. ९२ अर्ब ७१ करोड पुगेको छ।
चालु खाताले वैदेशिक कारोबारमा खर्च र आम्दानीको अन्तरलाई जनाउँछ। चालु खाता सकारात्मक भएमा देशले लगानी भन्दा बचत गरेको देखाउँछ। चालु खाता वैदेशिक मुद्राको कारोबारको एउटा विवरण हो जसमा व्यापार, रेमिटेन्स, ट्रान्सफर आदिको आम्दानी र खर्चको रकम समावेश हुन्छ। यो देशको अर्थतन्त्रको सबलता मापन गर्ने एउटा सूचक पनि हो। चालु खाता निरन्तर ठूलो मात्रामा घाटामा जानु अर्थतन्त्रका लागि चुनौतिपूर्ण अवस्था मानिन्छ।
पछिल्ला वर्षहरुमा देशको वैदेशिक व्यापारमा उच्च घाटा बेहोर्दै आएका कारण चालु खाता घाटा पनि बढ्दै गएको थियो। देशले वस्तु र सेवा आयात आयात गर्दा तिर्नुपर्ने वैदेशिक मुद्रा धेरै तर देश भित्रिने रकम थोरै भयो भने यस्तो घाटा बढ्छ। आर्थिक वर्ष २०७५/७६ मा देशको चालु खाता घाटा रु. २ खर्ब ६४ अर्बसम्म पुगेको थियो। गत आर्थिक वर्ष २०७६/७७ मा भने आयात घटेका कारण चालु खाता रु. ३३ अर्ब ६१ करोडले मात्रै नोक्सानीमा थियो।
साउनमा चालु खाता सकारात्मक अवस्थामा पुगेको भएपनि यसको दिगोपनमा भने आशंका छ। कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिका कारण अर्थतन्त्र शिथिल भएर विदेशबाट आयात ह्वात्तै खस्किएका कारण देशले आयातका लागि खर्च गर्नुपर्ने रकम घटेको छ। अर्थतन्त्र चलायमान हुन थालेर विदेशबाट पहिलेकै जसरी आयात बढ्न थाल्ने बित्तिकै चालु खाता फेरि घाटामा पुग्नसक्ने राष्ट्र ब्यांकका अनुसन्धान विभाग प्रमुख डा. भट्टले बताए।
अघिल्लो वर्षको साउन महिनामा रु. १ खर्ब ७ अर्बको वस्तु आयात भएकोमा गत साउनमा भने जम्मा रु. ८६ अर्बको मात्र आयात भएको छ। कोरोना भाइरसका कारण आर्थिक क्रियाकलाप कमजोर भएकाले देशमा फलाम, औद्योगिक मेसिनदेखि उपभोग्य सामानसम्मको माग कमजोर छ। त्यसैकारण, आयात घटेको हो।
राष्ट्र ब्यांकका अनुसार, देशको शोधनान्तर स्थिति पनि साउनमा रु. ५१ अर्ब ४६ करोड बचतमा छ। अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति रु. ६ अर्ब ५ करोडले मात्र वचतमा थियो। शोधनान्तर स्थितिले एक देशले अर्को देशसँग गर्ने वित्तीय लेनदेनको हिसाबकिताबलाई जनाउँछ। देशबाट बाहिरिने रकमका तुलनामा भित्रिने रकम बढी भएमा शोधनान्तर स्थिति सकारात्मक हुन्छ, भित्रिने भन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर घाटा हुन्छ। विदेशबाट वस्तु र सेवा आयात, वैदेशिक भ्रमण तथा शिक्षा, हवाई यातायातको टिकट खरिद आदिका लागि देशबाट रकम बाहिरिन्छ। विदेशमा गरिने वस्तु र सेवाको निर्यात, पर्यटकले ल्याउने रकम, रेमिटेन्स आदिमार्फत देशमा रकम भित्रिन्छ।
देशबाट बाहिरिने रकम घटेसँगै विदेशी मुद्राको सञ्चिती पनि साउनमा रु. १४ खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ। यो रकमले १५.६ महिनाको वस्तु र सेवाको आयात धान्न सक्छ। सामान्यतयाः देशसँग ७–८ महिनाका लागि वस्तु र सेवा आयात गर्दा तिर्न पुग्ने विदेशी मुद्राको वचत हुनुपर्छ भन्ने मान्यता राखिन्छ।