वामदेवलाई राष्ट्रिय सभामा लैजानु संविधानको भावनामाथि प्रहार : साझा पार्टी
![वामदेवलाई राष्ट्रिय सभामा लैजानु संविधानको भावनामाथि प्रहार : साझा पार्टी](https://www.himalkhabar.com/uploads/posts/1580115984sajha_party.jpg)
नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्नु संविधानको भावनामाथिको निर्मम प्रहार भएको साझा पार्टीले टिप्पणी गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै उसले गौतमलाई राष्ट्रिय सभामा लाने सरकारको कदम नागरिकको अपेक्षामाथिको ठाडो उपहास भएको समेत बताएको छ।
‘प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टी गम्भीर आपत्ति व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ। साझा पार्टीले राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका व्यक्तिलाई लैजानुलाई विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भनेको छ।
‘संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो’, साझाका सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय सभामा मनोनीत गौतमलाई मन्त्रीमण्डलमा नलैजान समेत उसले माग गरेको छ। संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको उल्लेख गर्दै साझा पार्टीले कुनै छिद्र प्रयोग गरेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको हो।