दशैं भत्ता फिर्ता गर्ने साझा पार्टीकी सांसदको घोषणा
साझा पार्टीको तर्फबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य शोभा शाक्यले दशैं भत्ता फिर्ता गर्ने भएकी छन्।
कोभिड-१९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैं भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने उनले बताएकी छन्।
“मासिक तलब स्वतः खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैं भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु”, सांसद शाक्यले भनेकी छन्, “दशैं खर्च बापतको सो रकम कोभिड-१९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु।”
सबै सांसदहरूलाई दशैं भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड-१९ नियन्त्रण र उपचारमा लगाउन पनि सांसद शाक्यले आग्रह गरेकी छन्।