हेकाफले सरकारलाई दियो २० वटा भेन्टिलेटर
अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको सहयोगमा हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०)ले सरकारलाई २० वटा भेन्टिलेटर सहयोग गरेको छ।
विश्वव्यापी महामारी कोभिड-१९ को सामना गर्न सरकारलाई सहयोग गर्ने उद्देश्य अनुरूप हेकाफ ३६० ले बिहीबार २० वटा जीवन रक्षक बाइप्याक भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
हेकाफले अत्यावश्यक भेन्टिलेटरसहित पीपीई, पञ्जा, गाउन, मास्क, थर्मोमिटर लगायत गरी करीब ९५ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो।
प्यूठान अस्पतालमा पाँच थान, लुम्बिनी प्रादेशिक अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा पाँच, दमक अस्पतालमा तीन, आम्दामा दुई, इलाम जिल्ला अस्पतालमा दुई र तेह्रथुम जिल्ला अस्पतालका लागि एक थान भेन्टिलेटर हस्तान्तरण गरिएको हो।
स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फाउण्डेसनले उपलब्ध गराएको सामग्रीको अधिकतम उपयोग गरी बिरामीको जीवनरक्षा गर्ने प्रतिवद्धता जनाए। कुनै समय पीपीई लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपरेकोमा पछिल्लो समय अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवनरक्षक सामग्रीको व्यवस्थापन गर्नुपरिरहेको मन्त्री ढकालले बताए।
यसअघि पनि हेकाफ ३६० ले २१ जेठमा सरकारलाई ३० वटा बाइप्याप भेन्टिलेटरसहित एक करोड २७ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। हेकाफ ३६० का अध्यक्ष तथा कार्यकारी निर्देशक महेश नकर्मीले भयावह परिस्थितिमा चुजी फाउन्डेसनद्वारा नेपाललाई सहयोग प्राप्त भएकोमा अभार व्यक्त गरे।