घोषणा मार्ग अर्थात् रारा–खप्तड पर्यटन मार्ग
–अच्युतराज भण्डारी, मुगु
रारा–खप्तड पर्यटकीय पदमार्ग सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडदेखि कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल रारा जोड्ने गरी पर्यटन मार्गको रूपमा घोषणा गरिएको थियो ।
खप्तड आउने पर्यटकका लागि अछामको साफेबगर, बाजुराको मार्तडी–कोल्टी हुँदै मुगुको झुगला खत्याड गाउँपालिकादेखि रारा घुम्न आउने गरी उक्त मार्गको घोषणा गरिएको हो ।
यो मार्गको यात्रा सहज र छोटो छ । तर, मार्ग निर्माणमा सरकारको ध्यान पुग्न नसक्दा खप्तड घुमेर पर्यटकहरू पुनः नेपालगञ्ज फर्केर जहाज तथा सडक मार्ग हुँदै रारा घुम्न आउने गरेका छन् ।
नेपालगञ्जबाट रारा जानु भनेको समयमा जहाज नउड्ने र नेपालगञ्जदेखि सुर्खेत, नाग्म हुँदै रारा पुग्न सडकको अवस्था जीर्ण हुँदा रारा आउने पर्यटकलाई थप सास्ती भोग्नुपरेको छ ।
यो मार्ग खुलाइए अछाम र बाजुराका विभिन्न रमणीय पर्यटकीय स्थलहरू अवलोकन गर्दै रारा पुग्न सहज हुने बाजुरा बोल्डिक गाउँका स्थानीय कर्मानन्द पाण्डेले बताए ।
कारक–निकुञ्ज
रारा–खप्तड पर्यटकीय मार्ग जोडिन नदिनुमा रारा राष्ट्रिय निकुञ्ज मुख्य तगारो बनेको छ । पर्यटकीय स्थल मुगुको रारा तालदेखि खत्याड गाउँपालिकाको बाउपानीसम्मको भूभाग निकुञ्ज क्षेत्रमा पर्ने हुँदा खत्याड गाउँपालिका र मुगु सदरमुकाम सडक सञ्जालमा अझै जोडिन सकेको छैन।
खत्याड–११ का वासिन्दा अहिले पनि ६ घण्टादेखि ३ दिनसम्मको पैदल हिंडेर सदरमुकाम पुग्ने गर्छन्।
“रारा राष्ट्रिय निकुञ्जले गर्दा खत्याड गाउँपालिकालाई सदरमुकाम गमगढीसँग सडक सञ्जालमा जोडिन नदिने भयो”, खत्याड–२ गाडेखोला गाउँका ५८ वर्षीय धनलाल टमटा दुखेसो सुनाउँछन्, “म विगत ३० वर्ष यता हरेक कामले यही बाटो हिंडेर सदरमुकाम आवत–जावत गरेको छु ।”
खत्याड गाउँपालिका केन्द्र माझचौरदेखि कालाकाडा हुँदै जुम्लाको गोठीज्युलाबाट मुगु सदरमुकाम सडक सञ्जालमा जोडिए पनि उल्टो, असहज र खासै ठूला गाडीहरू नचल्दा खत्याडका स्थानीय पैदलै हिंडेर रारा पदमार्ग भएर सदरमुकाम जाने गर्छन् ।
गाउँपालिका केन्द्रदेखि गाडीको यात्राभन्दा पैदल हिंडेको मान्छे गमगढी पहिले पुग्ने गरेको स्थानीय बताउँछन् ।
यो पदमार्गलाई सडक सञ्जालमा जोडेर सवारी साधन नियमित चलाउन सके खत्याड गाउँपालिकादेखि सदरमुकाम दुईदेखि तीन घण्टामा पुग्न सकिने स्थानीय बताउँछन् । हाल उक्त दूरी पार गर्न सातदेखि १० घण्टा पैदल लाग्ने गरेको छ ।
गत आर्थिक वर्षमा छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढीदेखि वडा नं ९ मुर्मागाउँसम्म सडक निर्माणका लागि ४५ लाख बजेट विनियोजन गरेको थियो । तर, निकुञ्जले सडक निर्माण कार्य रोकेपछि उक्त बजेट फिर्ता लगिएको थियो ।
बेलिब्रिजको खाँचो
कर्णाली करिडोर सडकलाई मुगुमा जोड्न खत्याड गाउँपाकिाका–८, सुकाढिक झुगलास्थित कर्णाली नदीमा बेलिब्रिज निर्माण गर्न सके खप्तडदेखि रारा आउने पर्यटकलाई झनै सजिलो हुने स्थानीयको भनाइ छ ।
सरकारले कर्णाली नदीमा बेलिब्रिज निर्माण गरिदिए कर्णाली राजमार्ग हुँदै रारा आउने पर्यटक जुम्लाको सिँजाबाट नआएर कालीकोटको खुलालु हुँदै बाजुरा भएर कर्णाली नदीको पुल तरेर सजिलै रारा पुग्न सक्ने खत्याड–८ सुकाढिक गाउँका गणेश गिरी बताउँछन् ।
“यो बाटो खुला गरिए स्थानीयले रोजगारी पाउनुका साथै उत्पादित बस्तुले मूल्य पाउने थियो, पर्यटकका लागि समेत रारा पुग्न सहज हुने छ,” उनी भन्छन् ।
रारा–खप्तड पर्यटकीय मार्गलाई कर्णाली करिडोर सडकमा जोड्न कर्णाली नदीमा बेलिब्रिज डीपीआरको काम भइसकेको मुगु जिल्ला प्रतिनिधिसभा सदस्य मोहन बानियाँ बताउँछन् । बेलिब्रिज निर्माणका लागि यो वर्ष थप बजेट जुटाउन आफू लागिपर्ने उनको भनाइ छ ।
उनका अनुसार, “कर्णालीमा पुल बनाएर झुगलादेखि रारासम्मको पर्यटकीय मार्ग निर्माण गर्न सके कर्णाली राजमार्ग हुँदै रारा आउने पर्यटक, चीनको मानसरोवरदेखि फर्किएका पर्यटक र खप्तडदेखि रारा आउने पर्यटकलाई सहज हुने छ ।”
कर्णाली राजमार्ग हँुदै रारा आउने पर्यटकलाई खप्तड–राराको बाटो भएर आउँदा ६० किलोमिटर दूरी कम पर्ने बताउँदै उनले भने, “यो मार्ग खुलाउन सके रारामा पर्यटकको घुइँचो लाग्ने छ ।”
सुदूरपश्चिमका गाउँबस्ती, लेकबेसी हेर्दै खत्याड क्षेत्र घुमेर रारा पुन पर्यटकलाई झनै आनन्द हुने उनको भनाइ छ ।
खत्याड गाउँपालिका पनि पर्यटनका लागि उत्कृष्ट मानिएको छ । मार्ग शुरु भए खत्याडमा पर्ने खेस्मालीका माई, तरमाल्नी माई गुफा, कालाकाडा, खेती पाटन लगायत पर्यटनका लागि राम्रा गन्तव्य बन्ने छन् ।
मार्ग खोल्न पहल
खप्तड–रारा पर्यटकीय पदमार्ग खुलाउन तीव्र रूपमा पहल भइरहेको खत्याड गाउँपालिका अध्यक्ष उब्जन शाहीले बताए । मुगुको सिमाना झुगलादेखि खत्याड बाउपानीसम्मको सडक निर्माण कार्यले गति लिएको उनको भनाइ छ ।
बाजुरा र मुगुको सीमा छुट्ट्याउने कर्णाली नदीमा बेलिब्रिज निर्माणका लागि सर्भे डिजाइन भइसकेको बताउँदै उनले भने, “खत्याड झुगलादेखि रारा माझघट्टसम्मको सडक जोड्न रारा राष्ट्रिय निकुञ्ज तगारो बनेको छ ।”
निकुञ्जका कारण रारा–खप्तड पर्यटकीय मार्ग समेत ओझेलमा परेको खत्याडका स्थानीयको आरोप छ । यसले गर्दा खत्याड गाउँपालिकादेखि जिल्ला सदरमुकामसम्म सडक सञ्जाल जोडिन सकेको छैन।
अर्कोतिर खत्याड गाउँपालिका पुग्न जुम्लाको गोठीज्युला हुँदै कालाकाडा लेकबाट जानुपर्ने अवस्था छ । सामान्य काम पर्दा ६ घण्टादेखि २ दिनसम्मको पैदल यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता गाउँपालिकाबासीलाई रहेको छ।
खप्तड–रारा पर्यटकीय पदमार्ग अति आवश्यक रहेको पूर्व उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष टेकबहादुर बानियाँले बताए । पदमार्ग बने खत्याड गाउँपालिका र जिल्लाको विकास तथा आर्थिक उन्नतिमा टेवा पुग्ने उनको भनाइ छ । स्थानीयको आयस्रोतमा समेत टेवा पुग्ने छ ।