युएस ओपनको पुरुषतर्फको उपाधि अष्ट्रेलियाका डोमिनिक थिमलाई
युएस ओपनको पुरुषतर्फको उपाधि अष्ट्रेलियाका डोमिनिक थिमले जितेका छन्। उनले लगातार दुई सेट पछि परिसकेको अवस्थालाई उल्टाउँदै अलेक्जेन्डर ज्वेरभलाई पराजित गरे।
पहिलो ग्रान्डस्लाम उपाधि जित्ने क्रममा उनले जर्मन खेलाडी ज्वेरभसँग २–६, ४–६, ६–४, ६–३ र ७–६ (८–६) को संघर्षपूर्ण प्रतिश्पर्धा गर्नुपरेको थियो। २७ वर्षीय थिम यसअघि तीन वटा प्रमुख प्रतिश्पर्धाको फाइनलमा पराजित भएका थिए।
२३ वर्षीय ज्वेरभ भने पहिलोपटक ग्रान्डस्लामको फाइनलमा पुगेका थिए। उनी लगातार दुई सेट जितेपछि पहिलो फाइनलमा नै उपाधि नजिक पुगिसकेका थिए। तर, खेलमा नियन्त्रण गुमाएपछि उपाधि थिमलाई सुम्पिन बाध्य भए।
लगातार दुई सेट गुमाएर पनि ग्रान्डस्लाम उपाधि जित्ने थिम सन् २०१४ पछिका पहिलो खेलाडी भए। त्यति वेला अर्जेन्टिनाका ग्यास्टोन गाउडियोले दुई सेटमा पछि परिसकेको अवस्था उल्टाएर फ्रेन्च ओपनको उपाधि जितेका थिए।