प्रदेश २ का बाँकी एसईई परीक्षा स्थगित
लगातार दुई दिन प्रश्नपत्र बाहिरिएपछि सरकारले प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शुक्रबार अबेर आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ का बाँकी सबैं परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको बताए । उनले स्थगित परीक्षा यही महिनाभित्र हुने पनि बताए ।
प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
मन्त्रालयका अनुसार, बिहीबार रद्द भएको विज्ञानको परीक्षा भने २२ गते नै हुनेछ । बाँकी परीक्षा भने हुने छैनन् ।
अंग्रेजी, नेपाली र गणितको परीक्षा भने रद्द हुने छैन ।
“प्रश्नपत्र आउट गर्नु आपराधिक घटना हो, संलग्नलाई कारबाही हुनेछ”, उनले भने ।
प्रदेश २ मा एसईईका ७० हजार ५६८ जना परीक्षार्थी छन् । यसका लागि २६२ केन्द्र तोकिएका थिए ।