इथियोपियन एअरलाइन्स दुर्घटना: परिवारद्वारा बोइङ कम्पनीविरुद्ध मुद्दा
इथियोपियन एअरलाइन्स दुर्घटनामा ज्यान गुमाएका रुवाण्डाका एक नागरिकको परिवारले बिहीबार विमान कम्पनी बोइङविरुद्ध मुद्दा दायर गरेको छ।
इथियोपियन एअरलाइन्सको बोइङ ७३७ म्याक्स विमान गत मार्च १० मा इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीतर्फ उडेको केही मिनेटमै जमिनमा खसेको थियो ।
दुर्घटनामा चालकदलका सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो, जसमध्ये रुवाण्डाका ३१ वर्षीय ज्याक्सन मुसोनी एक थिए ।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर)को सुडानस्थित कार्यालयका कर्मचारी मुसोनी तीन सन्तानका पिता थिए ।
दुर्घटनामा २८ वर्षीया नेपाली एकता अधिकारीको पनि मृत्यु भएको थियो । अधिकारी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको अदिस अबाबास्थित कार्यालयमा कार्यरत् थिइन् । विमानमा २२ जना राष्ट्रसंघीय कर्मचारी थिए ।
रोयटर्सलाई उद्धृत गर्दै टाइम म्यागेजिनको अनलाइन संस्करणले मुद्दा अमेरिकाको सिकागो संघीय अदालतमा दायर गरिएको जनाएको छ ।
मुद्दामा विमानको फ्लाइट कन्ट्रोल सिस्टम गलत तरिकाले निर्माण गरिएको र यसबारे पाइलटलाई शुरुमै चेतावनी दिन कम्पनी असफल भएको दाबी गरिएको छ ।
विमान कम्पनीकै कारण आफ्नो परिवारका सदस्यको अकालमा ज्यान गएको र यसमा बोइङ कम्पनी दोषी रहेको आरोप लगाइएको छ ।
गत अक्टोबरमा बोइङको ७३७ म्याक्स मोडलकै अर्को विमान लायन एअर इन्डोनेशियामा दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।
दुर्घटनासँगै बोइङको यो मोडलका विमान उडानमा संसारभर प्रतिबन्ध लगाइएको छ । अधिकारीहरूले विमान निर्माणको प्राविधिक पक्षमाथि अनुसन्धान गरिरहेका छन् ।