महिला अफिसियलमाथि बल हानेका कारण यूएस ओपनबाट बाहिरिए नोभाक जोकोभिच
![महिला अफिसियलमाथि बल हानेका कारण यूएस ओपनबाट बाहिरिए नोभाक जोकोभिच](https://www.himalkhabar.com/uploads/posts/800X600/Novak_Djokovic_US_Open_1599440469.jpg)
विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई आइतबार भएको यूएस ओपन प्रि-क्वाटर फाइनल प्रतिस्पर्धामा अयोग्य घोषित गरिएको छ। लाइन जजमाथि टेनिस बल हानेका कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन्।
उक्त प्रि-क्वाटर फाइनल म्याचमा सर्बियाका जोकोभिच स्पेनका पाब्लो कर्रेनो बस्टासँग भिडिरहेका थियो। बस्टासँग पहिलो सेटमा ५-६ ले पछाडि परेपछि हतास भएका जोकोभिचले बल निकालेर टेनिस र्याकेटबाट प्रहार गरे। उक्त बल सीधै गएर लाइन जजलाई लाग्यो।
उक्त घटनापछि लामो छलफल हुँदा उनलाई यूएस ओपनका अधिकारीहरुले अयोग्य घोषित गरे।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Novak%20Djokovic%20US%20Open%20Out.jpg)
यूनाइटेड स्टेट्स टेनिस एसोसिएसनले एक विज्ञप्तिमा भनेको छ, "ग्रान्ड स्लाम नियम पुस्तिकाका अनुसार, जोकोभिचले जानाजान कसैलाई बलबाट वा कुनै खतरनाक तरिकाबाट प्रहार गर्ने वा कोर्टभित्र लापरवाहीपूर्वक खेल्ने वा परिणामलाई गम्भीरतापूर्वक नलिने काम गरेका कारण यूएस ओपनका रेफ्रीद्वारा २०२० यूएस ओपनबाट निकालिएको छ।"
उनी ग्रान्ड स्लामको इतिहासमा अयोग्य ठहरिने तेस्रा खेलाडी हुन्। उनी अगाडि सन् १९९० मा जोन मैकेनरो अस्ट्रेलियन ओपनबाट र २००० मा स्टीफन कुबैक फ्रेन्च ओपनबाट अयोग्य घोषित गरिएका थिए।
जोकोभिचलाई यूएस ओपनमा पुरुष एकलतर्फको उपाधिको बलियो दाबेदार मानिएको थियो। उनी प्रतिद्वन्द्वी राफायल नाडाल र रोजर फेडेररको नजिक पुग्ने गरी आफ्नो १८औं ग्रान्ड स्लाम उपाधि जित्न खेल्दै थिए। फेडेररसँग २० वटा र नाडालसँग १९ वटा ग्रान्ड स्लाम उपाधि छ। - एजेन्सी