अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तेजश्री थापाको निधन
ह्युमन राइट्स वाच (एचआरडब्लू)की वरिष्ठ दक्षिण एशिया अनुसन्धानकर्ता तेजश्री थापाको मंगलबार निधन भएको छ ।
५२ वर्षीया थापाको अमेरिकाको न्यूयोर्क सिटीमा मृत्यु भएको हो । वाचले बुधबार शोक मन्तव्य व्यक्त गर्दै रोगका कारण थापाको निधन भएको जनाएको छ ।
तेजश्री पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत एवं कुटनीतिज्ञ डा.भेषबहादुर थापा र जनस्वास्थ्यविद् डा.रीता थापाकी जेठी छोरी हुन् । नेपालीमूलकी साहित्यकार मञ्जुश्री तेजश्रीकी बहिनी हुन् ।
वाचमा काम गर्नुपूर्व थापाले मानवअधिकारकर्मीका रुपमा संयुक्त राष्ट्रसंघ, द हेगस्थित इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल, बाल्कन, बाङ्लादेश, श्रीलंका, नेपालका देशमा प्रशंसनीय काम गरेकी थिइन् । थापाकी १८ वर्षकी छोरी छिन् ।
मञ्जुश्रीले आज साँझ् साढे ६ बजे फेसबुकमार्फत दिदी र आफ्नो तस्वीरहरु सार्वजनिक गरेकी छिन् । त्यसक्रममा उनले दिदी आफ्नो जीवनकै वास्तविक घनिष्ठ साथी भएको भन्दैं उनैले आफूलाई सबै कुरा सिकाएको बताएकी छिन् ।
यसअघि थापाका पारिवारिक मित्र ड्यानियल लाकले नेपाली टाइम्स साप्ताहिकमा प्रकाशित एक लेखमार्फत थापाको निधनको पुष्टि गरेका थिए ।
थापा परिवारले दोस्रो सन्तानशोक भोग्नुपरेको छ । पाँच वर्षअघि थापा परिवारले जेठा छोरा भाष्करलाई गुमाएका थिए ।