सर्वोच्च अदालतका नियमित सेवा प्रवाहमा कटौती, संवेदनशील मुद्दा मात्र सुनुवाइ हुने
कोरोना संक्रमण बढेसँगै सर्वोच्च अदालतले १५ भदौसम्म केही सेवा प्रवाहलाई कटौती गर्ने निर्णय गरेको छ। कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि अदालतमा भीडभाड हुन नदिन बन्दी प्रत्यक्षीकरण रिटसहित केही संवेदनशील मुद्दा मात्र सुनुवाइ गर्ने अदालतले जनाएको छ।
"काठमाडौं उपत्यकामा समेत संक्रमण बढ्दै गएको र परीक्षणबाट यस अदालतका कर्मचारी माननीय न्यायाधीशका निजी सुरक्षाकर्मी समेतमा संक्रमण देखिई न्यायाधीशहरू नै होम क्वारेन्टिनमा रहनु परेको अवस्था छ," अदालतले जारी गरेको सूचनामा भनिएको छ, "यस परिस्थितिमा सेवा प्रवाहमा संकुचन ल्याउन आवश्यक रहेको विषयमा नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएशनबाट समेत अनुरोध भई आएको छ।"
बन्दी प्रत्यक्षीकरणको रिट, विषयवस्तुको संवेदनशीलता र तत्काल सुनुवाइ गर्नुपर्ने प्रकृतिको रिटको दर्ता र सुनुवाइ मुद्दा त्फिरर्ता र मिलापत्रसम्बन्धी काम कारबाही मात्र गर्ने सर्वोच्च अदालतले जनाएको छ।
साथै काठमाडौं उपत्यकाभित्रका सेवाग्राहीहरूले हदम्याद र तारिखमा यस अदालतमा उपस्थित हुनुपर्ने अवस्थाको हकमा सोही बमाेजिम हुने गरी व्यवस्था मिलाइएको अदालतले जनाएको छ।