यी हुन् खुला प्रतियोगिताबाट जिल्ला अदालतमा नियुक्त भएका २४ जना न्यायाधीश
न्याय सेवा आयोगले खुला प्रतियोगिताबाट जिल्ला अदालतमा २४ जना न्यायाधीश सिफारिस गरेको छ। आयोगले जिल्ला अदालतहरूका लागि २९ जना न्यायाधीश माग गर्दै विज्ञापन गरेकोमा २६ जना मात्रै अन्तर्वार्ताका लागि छानिएका थिए।
२२९ जनामध्ये अन्तर्वार्तामा २६ जना छानिएकोमा न्यायाधीशको सिफारिसमा भने २४ जना मात्रै परेका छन्।
आयोगको आजको बैठकले आन्तरिक खुलातर्फ यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेल, डिल्लीराम शर्मा अर्याल, तिलकबहादुर कार्की, केशवराज चपाई, रामचन्द्र खड्का र चन्द्रप्रकाश तिवारीलाई सिफारिस गरेको हो।
त्यसैगरी दिलकुमार वर्देवा, ठाकुरप्रसाद खरेल, विष्णुप्रसाद अवस्थी, उत्तम सिलुवाल र खेमराज भट्ट पनि आन्तरिक खुलातर्फ नै न्यायाधीश सिफारिसमा परेका छन्।
त्यस्तै खुलातर्फ ९ जना न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका छन्। उनीहरूमा ध्रुवराज कार्की, टेकनाथ गौतम, श्याम विहारी मौर्य, ढाकाराम पौडेल, ईश्वरमणि ओझा, मनोजकुमार श्रीवास्तव, अम्बिकाप्रसाद दाहाल, उद्धवप्रसाद गजुरेल र पुण्यप्रसाद देवकोटा छन्। अपांगतर्फ रोमाकान्त ज्ञवाली सिफारिसमा परेका छन्।
संविधानले जिल्ला अदालतमा रिक्त रहेकामध्ये ४० प्रतिशत खुल्ला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्ति गर्ने व्यवस्था गरेपछि न्याय सेवा आयोगले परीक्षा लिन थालेको हो।
आन्तरिक खुला (१४ जना), खुला (९ जना), महिला (१ जना), आदिवासी-जनजाति (२ जना), मधेशी (१ जना), अपांग (१ जना) र पिछडिएको क्षेत्र (१ जना) का लागि विज्ञापन आह्वान गरेको थियो। त्यसमध्ये महिला, आदिवासी-जनजाति र पिछडिएको क्षेत्रबाट कोही पनि लिखित परीक्षा उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट हुन सकेनन्।
नेपालका जिल्ला अदालतमा २३७ न्यायाधीशको दरबन्दी छ।