राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन समितिद्वारा तीन उपसमिति गठन
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले समितिको कार्यक्षेत्र भित्रको काम कारबाहीलाई व्यवस्थित रुपमा सम्पादन गर्न तीनवटा उपसमिति गठन गरेको छ।
सोमबार बसेको समितिको बैठकमा सभापति रामनारायण बिडारीले कोभिड १९ का कारण नियमित बैठक बस्न अप्ठ्यारो भएकाले समितिका काम व्यवस्थित र प्रभावकारी रुपले सम्पादन गर्न उपसमिति गठन गरिएको बताए।
समितिले प्रत्यायोजित व्यवस्थापन उपसमिति, सरकारी आश्वासन उपसमिति, राष्ट्रिय महत्वका दस्तावेज अभिलेख संरक्षण उपसमिति गठन गरेको हो। सबै समितिको कार्यअवधि तीन महिनाको रहेको छ।
प्रत्यायोजित व्यवस्थापन उपसमितिमा संयोजक राधेश्याम अधिकारी र सदस्यहरूमा अगम प्रसाद वान्तवा राई, नरपति लुवार र नैनकला ओझा छन्। यो उपसमितिले मन्त्रालयले बनाएका प्रत्यायोजित विधायनहरू अध्ययन गरी समितिमा प्रतिवेदन पेश गर्नु पर्नेछ।
यस्तै सरकारी आश्वासन उपसमितिमा संयोजक शेरबहादुर कुँवर र सदस्यहरू बिना पोखरेल, शान्ती कुमारी अधिकारी जिसि र हरिराम चौधरी छन्। यो समितिले सरकारका तर्फबाट भएका आश्वासन र प्रतिवद्धताहरूको अध्ययन गरेर प्रतिवेदन पेश गर्नेछ।
राष्ट्रिय महत्वका दस्तावेज अभिलेख संरक्षण उपसमितिमा संयोजक समिति सभापति रामनारायण विडारी र सदस्यहरू गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसा कुमारी दाहाल र सुमित्रा बिसी छन्।
यो उपसमितिले राष्ट्रिय महत्वका दस्तावेज अभिलेख संरक्षणका सम्बन्धमा छलफल र अध्ययन गरी नीतिगत विषयहरु समेटेर प्रतिवेदन तयार गरी समितिमा पेश गर्नुपर्नेछ।
राष्ट्रिय सभा नियमावलीको नियम १५२ बमोजिम समितिहरुले उपसमितिहरु गठन गर्न सक्नेछन्। कोरोनाभाइरसको जोखिमका कारण समितिको बैठक १५ दिनसम्म नबस्ने र त्यसपछि अवस्था हेरेर निर्णय गर्ने समिति सभापति बिडारीले बताए।