धनगढी बजार जलमग्न, दुई मन्त्रालय पनि डुबानमा
उन्नती चौधरी/कैलाली
लगातार दुई दिनदेखिको वर्षाका कारण धनगढी उपमहानगरपालिका जलमग्न भएको छ। सुदूरपश्चिम प्रदेशका दुई मन्त्रालय पनि डुबानमा परेका छन्।
सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुदूरपश्चिम प्रदेश सभा वरिपरि जलमग्न छ। क्याम्पस रोड, धनगढी गाउँ, शिवनगर, एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुर लगायत क्षेत्रमा पनि डुबान छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै ३०० घर जलमग्न भएको बताए। उनले भने “पानी पसेपछि ५५ घरमा क्षति पुगेको छ। बाँकी घरको क्षतिको विवरण आउन बाँकी छ।”
क्याम्पस रोड सद्भावना टोलका दर्जनौं घर डुबानमा परेपछि त्यहाँका स्थानीय विस्थापित भएका छन्। घरमा पानी पसेपछि अन्यत्रै बस्न थालेको ६० वर्षीय भागुन्दत्त चौधरीले बताए।
उनले आफू बस्दै आएको टोल पूर्णरुपले डुबान भएपछि आफन्त कहाँ गएर बस्न थालेको बताए। “पाँचवटा घरमा त बस्नै नमिल्ने गरि पानी पसेको छ”, उनले भने।
यस्तै विशालनगरमा आधा दर्जनभन्दा बढी परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताए। उनले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्न थालेको जानकारी दिए। धनगढीको बजार क्षेत्र र आसपासका वडामा बढी डुबान छ।
धनगढीमा धेरै खोला अतिक्रमणको चपेटामा परेका छन्। धनगढीमा सडकको पानी निकासका लागि बनाइएका नालीबाट पनि पानी निकास नभएपछि बजार क्षेत्र डुबानमा परेको हो।