सुनको मूल्य बढेर एकलाख नाघ्यो, बिक्री शून्य
सुनको भाउ दैनिक उकालो लागिरहेको बेला बिक्री भने शून्यमा झरेको छ। बुधबारको मूल्य एक लाख नौ सयबाट १६ सय बढ्दै हालसम्मकै उच्च मूल्यमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ बढेर छापावाल सुनको मूल्य एक लाख दुई हजार पाँच सय पुगेको छ भने तेजाबी सुनको मूल्य एक लाख दुई हजार पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार कमै मात्रामा भए पनि खरीद भइरहेको छ भने बिक्री शून्य छ।
सुनचाँदी व्यवसायीहरु पसल खोलेर बिना कारोबार बस्नुको विकल्प नरहेको उनले बताए। “पसल खोलेर बसिरहेका मात्रै छौं। बिक्री शून्य छ,” उनले भने।
सामान्यतया नेपालमा विवाहको मौसममा सुनको कारोबार हुने गर्छ। यो वर्ष विवाहको साइत पनि धेरै नभएकाले एक वर्ष कारोबार नै नहुने महासचिव बज्राचार्यको अनुमान रहेको छ।
त्यस्तै चाँदीको मूल्य पनि बढेर १३४५ पुगेको छ।