मलेसियामा नेपाली कामदारमाथि कुटपिट, सामाजिक सञ्जालमा आक्रोश
मलेसियाको राजधानी क्वालालम्पुरमा सुपरभाइजरबाट कुटिएका एक नेपाली युवकको भिडियो सामाजिक सञ्जालमा 'भाइरल' भएसँगै व्यापक आक्रोश व्यक्त भइरहेको छ।
वैदेशिक रोजगारमा मलेसियामा कार्यरत एक नेपाली युवालाई सुपरभाइजरले निर्घात कुटपिट गरिरहेको मोबाइल भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।
उक्त भिडियो ७ जुलाईमा फेसबुक पेज एसक्यू सोउल सेभेनमा पोष्ट भएको थियो।
भिडियोमा सुपरभाइजरले सुरक्षागार्डले बोक्ने लाठीले जथाभाबी प्रहार गरिरहेका छन् भने ती नेपाली गार्ड केही बोल्न सकिरहेका छैनन्।
अपार्टमेन्टको पार्किङ जस्तो देखिने ठाउँमा मोबाइलबाट भिडियो खिचिरेहका व्यक्ति नकुट्न आग्रह गरिरहेको भएपनि सुपरभाइजर युवामाथि निरन्तर आक्रमण गरिरहेका देखिन्छन्।
नेपालीमाथिकाे याे कुटपिटबारे आज शुक्रबार क्वालालम्पुरस्थित नेपाली दूतावासले पुलिसमा उजुरी दर्ता गराएको छ र यस भिडियोको बारेमा थप जानकारी भए उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
अधिकारवादी समूह 'पर्सातुअन इन्डस्ट्री केसेलमतान मलेसिया'ले पनि पीडकलाई सजाय माग गर्दै छुट्टै रिपोर्ट दर्ता गरेको छ। मलेसियन ट्रेड यूनियन कंग्रेसले पनि सुपरभाइजरलाई कारवाहीको माग गरेको छ।
अहिलेसम्म ती सुपरभाइजर र कुटिएका नेपाली युवकको बारेमा कुनै जानकारी सार्वजनिक हुन सकेको छैन। ती युवक किन कुटिए र सुपरभाइजरले किन कुटे भन्ने बारेमा पनि केही सूचना बाहिर आउन सकेको छैन। यद्यपि, कामदारमाथि क्रुरतापूर्ण कुटपिट न्यायोचित नभएको प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेको छ।
भिडियोमा सुपरभाइजरले "मैले तिम्रो लागि राम्रो गरिरहेको थिएँ तर बदलामा के पाएँ? तिमीलाई आफूलाई ठूलो ठानिरहेको छौ? तिम्रो समस्या के हो?" भन्दै मले भाषामा बोलेको सुनिन्छ।
"कुटपिट गर्ने मान्छे 'मन्नु' नामकाे भारतीय मूलकाे मलेसियाली हुनसक्छ, जो अलायन्स सेक्यूरिटीमा काम गर्थ्यो, यसअघि पनि उनीविरूद्ध यस्ता धेरै केस परिसकेका थिए," वैदेशिक रोजगारमा गएर मलेसियाबाट फर्किएका सन्तोष सापकोटा भन्छन्, "मैले पनि उसको दुर्व्यवहार भोग्नु परेपछि नेपाली दूतावासमा रिपोर्ट गरेको थिएँ। त्यसपछि दूतावासको सहयोगमा ५ वर्षकाे साटाे ३ वर्ष ७ महीनामै ५ महीनाअघि नेपाल फर्किएँ।"
"यदि उसलाई दुर्व्यवहार गर्न मन लाग्यो भने कुनै कारण नै चाहिंदैन", सापकोटा भन्छन्।
याे भिडियोले मलेसियामा प्रवासी कामदारमाथि हुने दुर्व्यवहारका घटनाहरू सार्वजनिक गर्न मद्दत पुर्याएको छ। मलेसियामा काम गर्ने प्रवासी मजदुरले आफ्नो जीवन कति पीडादायी छ भन्ने कुरा याे भिडियाेले बाहिर ल्याएको र यो प्रतिनिधिमूलक घटना मात्रै भएको प्रतिक्रिया मध्यपूर्वका देशहरुमा कार्यरत् नेपालीहरुले सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन्।
यस्ता अरू धेरै घटनाहरू सार्वजनिक हुँदैनन् किनभने ती घटनाको भिडियो खिच्न सम्भव हुँदैन, जसका कारण पीडकहरू बच्न सफल भइरहेका हुन्छन्।
मलेसियाबाट फर्किने धेरै नेपालीले त्यहाँ भोग्नुपरेका समस्याहरूबारे प्रहरीलाई उजुरी गर्नै सक्दैनन्, किनभने पहिले त उनीहरू न्याय पाउँदैनन्, दाेस्रो उजुरी गरेकै कारण थप प्रताडित हुनुपर्छ। उनीहरूको पक्षमा बोलिदिने र न्याय दिने कोही पनि हुँदैन। कुटाइ खाएकै कारण लाखौं ऋण लिएर विदेशिन बाध्य युवा उल्टै ऋण थपेर नेपाल फर्किने गरेका छन्।