राप्रपाले पायो कन्जरभेटिभ राजनीतिक दलहरूको छाता संगठन आईडियूको सदस्यता
राष्ट्रिय प्रजातन्त्र पार्टीले कन्जरभेटिभ राजनीतिक दलहरूको छाता संगठन “इन्टरनेशनल डेमोक्राटिक यूनियन” को सदस्यता प्राप्त गरेको छ। युनियन कार्य समितिको भर्चुअल बैठकले राप्रपालाई सदस्यता दिने निर्णय गरेको हो।
क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा अष्ट्रेलियाका सत्तारुढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले राप्रपालाई सदस्यता दिने प्रस्ताव गरेकोमा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए। नसिरले दक्षिण एशियाली मुलुकबाट थप सदस्य भएकोमा खुसी समेत व्यक्त गरेका थिए।
विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए। बैठकमा बोल्दै अध्यक्ष थापाले संसारका सबै मुलुकहरूको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा थप चुनौतिहरू देखा परेको चर्चासहित कन्जरभेटिभ पार्टीहरूको एकता र सहकार्यको आवश्यकता झन् बढेर गएको बताए।
थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आईडियूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
संयुक्त राज्य अमेरिकाको वासिङ्गन डिसिमा आयोजना हुने बैठक कोभिड–१९ का कारण भर्चुअल रुपमा गरिएको हो। बैठकले नेपालसहित युक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको हो। यूनियनको आगामी अन्तराष्ट्रिय सम्मेलनले यो निर्णयको अनुमोदन गर्दै राप्रपालाई पूर्ण सदस्यता प्राप्त हुने पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए।