अष्ट्रेलियाका जंगलमा लागेको आगोमा तीन अर्ब जनावर मरे
सन् २०१९ को अन्त्यदेखि २०२० को शुरुसम्म अष्ट्रेलियाका जंगलमा लागेको आगोमा परी तीन अर्ब जनावर मरेको वा बासस्थानबाट भागेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले गठन गरेको आयोगले उक्त आगलागी वन्यजन्तुको जीवनका लागि आधुनिक इतिहासकै सबैभन्दा खतरनाक त्रासदी रहेको निष्कर्ष निकालेको छ।
पछिल्लो गर्मीमा आगोले अष्ट्रेलियका सबै राज्यका अधिकांश जंगल खरानी भएका थिए। आगोका ठूला ठूला लप्कामा परी जनावरले ज्यान गुमाए। तारबारले घेरिएको जंगलमा कतिपय जनावर भाग्ने प्रयास गर्दा त्यहीँ अड्किएर मरेका थिए। आगोमा परी ३३ जनाले पनि ज्यान गुमाए।
आगोका कारण स्तनधारी जनावर, कीरा, सर्प, चरा, भ्यागुत्ता जस्ता जनावर मरे। ती जनावर कति जलेर र कतिले प्राकृतिक बासस्थान गुमाएर मरे। गएको जनवरीमा आगो चरम सीमामा पुग्दा न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा मात्र एक अर्ब २५ करोड जनावर मर्ने वैज्ञानिकहरुको अनुमान थियो।
तर, सेप्टेम्बर २०१९ र फेब्रुअरी २०२० को आगो सबैभन्दा बढी भयानक थियो। नयाँ तथ्याङ्क अनुसार अष्ट्रेलियाको ११.४६ लाख हेक्टरमा आगो लागेको छ।
अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयका १० वैज्ञानिकका अनुसन्धान प्रमुख प्राध्यापक क्रिस डिकम्यानले अन्दाज लगाउनै मुस्किल पर्ने गरी जनावर मरेको बताएका छन्। आगलागीअघि जंगलहरुमा जनावरको संख्या र घनत्वका आधारमा मर्नेको संख्या निकालिएको उनले बताए। खाना र बसोबास नहुँदा जनावर उक्त क्षेत्रबाट भागेर अन्यत्र गएको अनुमान गर्न नसकिने उनी बताउँछन्।
अष्ट्रेलिया सरकारले वन्यजन्तुको प्राकृतिक बासस्थानलाई फेरि बनाउन तीन करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको छ। तर, पर्यावरणविद्हरुले पहिला प्राकृतिक संरक्षण कानूनलाई बलियो बनाउनुपर्ने बताएका छन्।
-बीबीसी हिन्दीबाट